काठमाडौं : मध्य भोटेकोशी जलविद्युत कम्पनीले कात्तिक २८ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीलाई १ करोड ४४ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।
यो आइपीओमा सञ्चयकर्ताहरुले कात्तिक २८ देखि मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसैगरी, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीले मंसिर १८ देखि २६ गतेसम्म आवेदन दिन पाउने भोटेकोशीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । भोटेकोशीको आइपीओमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीले न्यूनतम ५० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।


यता, कर्मचारी सञ्चय कोषका कर्मचारीले भने न्यूनतम ५० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम १२ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । सेयर भर्न सी–आस्वा अनिवार्य गरिएको छ । सी–आस्वा सेवा दिने सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्न सकिन्छ । सेयर भर्दा आफ्नो कर्मचारी परिचयपत्र तथा सञ्चयकर्ताले सञ्चयकर्ता परिचयपत्र पेश गर्नुपर्नेछ । आवेदकको सीआरएन र डिम्याट खाता अनिवार्य हुनुपर्नेछ । सञ्चयकर्ताको हकमा २०६८ मंसिर २२ मा कायम रहेका र सो पश्चात २०७५ असोज २९ भित्र कायम रहेका सञ्चयकर्ताले यो आइपीओमा आवेदन दिन पाउनेछन् ।


यस आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक तथा सिभिल क्यापिटल, एनआइबीएल एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटलले सह–बिक्री प्रबन्धकको रुपमा काम गर्नेछन् । १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा रहेको छ । कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड र जारी पुँजी ६ अर्ब रहेको छ । संस्थापक सेयरधनीले ३ अर्ब ६ करोड रुपैयाँ चुक्ता गरिसकेका छन् ।
कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि आइपीओ खुला गर्नेछ । स्थानीय बासिन्दाले जारी पुँजीको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँको सेयर खुला हुनेछ । त्यसपछि मात्र तेस्रो चरणमा सर्वसाधारण तथा मध्य भोटेकोशीकै कर्मचारीका लागि जारी पुँजीको १५ प्रतिशतका दरले ९० करोड रुपैयाँको आइपीओ खुला गरिनेछ ।

Comments

Popular Posts