मध्य भोटेकोशी जलविद्युत आयोजनाले आइपीओ निष्कासन गर्न अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले मध्य भोटेकोशीलाई आइपीओ जारी गर्न स्वीकृति दिएको हो । कम्पनीले पहिलो चरणमा ऋण लगानीकर्ता कम्पनीहरु, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।
 
मध्य भोटेकोशीले पहिलो चरणमा १ अर्ब ४४ करोड रुपैयाँको आइपीओ खुला गर्नेछ । जस अनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुका लागि कुल जारी पुँजीको १९.५% का दरले हुन आउने १ अर्ब १७ करोड रुपैयाँको सेयर बिक्री खुला गरिनेछ ।  
 
यसैगरी, संस्थापक सेयरधनी कम्पनीमा कार्यरत कर्मचारीका लागि कुल जारी पुँजीको ३.५% का दरले २१ करोड रुपैयाँको सेयर खुला हुनेछ ।  यस्तै, ऋणदाता कम्पनीको कर्मचारीका लागि कुल जारी पुँजीको १ प्रतिशतका दरले हुन आउने ६ करोड रुपैयाँ बराबरको आइपीओ खुला हुनेछ ।  
 
कम्पनीले त्यसपछि दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि आइपीओ खुला गर्नेछ । स्थानीय बासिन्दाले जारी पुँजीको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँको सेयर खुला हुनेछ। त्यसपछि मात्र तेस्रो चरणमा सर्वसाधारण तथा मध्य भोटेकोशीकै कर्मचारीका लागि जारी पुँजीको १५ प्रतिशतका दरले ९० करोड रुपैयाँको आइपीओ खुला गरिनेछ ।

यस आधारमा मध्य भोटेकोशीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको २ अर्ब ९४ करोड रुपैयाँको २ करोड ९४ लाख कित्ता आइपीओ खुला हुनेछ । मध्य भोटेकोशीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत परियोजना निर्माण गरिरहेको छ । यस आयोजनमा चिलिमे जलविद्यूत, नेपाल विद्युत प्राधिकरण लगायतले लगानी गरेका छन् ।

कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड रुपैयाँ ऋण लगानी गरेको छ । सन् २०१३ मा सुरु भएको यो आयोजना सन् २०१९मा सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । यस आइपीओमा ग्लोबल आइएमर्इ क्यापिटल, सिभिल क्यापिटल, एनआइबीएल एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटलले संयुक्त रुपमा  बिक्री प्रबन्धकको काम गर्नेछन् । 

Comments

Popular Posts